वायुसेवा सञ्चालक संघले भन्यो : राति ८ बजेपछि उडान गर्न सकिँदैन



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । 

वायुसेवा सञ्चालक संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागू हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो ।


तर, संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सले विविध प्राविधिक कारणले हाललाई राति ८ बजे पछिका नियमिततर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको जनाएका हुन् । संघले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न प्राधिकरणलाई आग्रह गरेको छ ।