यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार र मापदण्ड



काठमाडाैँ । पाँच दलीय सत्तारुढ गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेको छ

। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका आधार पनि तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु टुंगो लगाएको छ ।


यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार

(१) २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।

(२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने ।

(३) २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

४ २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।

(५) नेकपा (एकीकृत समाजवादी) २०७४ को निर्वाचनमा पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा (एमाले) विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने ।

(६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

(७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।

मापदण्ड  :
(१) महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

(२) नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

(३) सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

(४) प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।

(५) प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

(६) सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।