मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने



काठमाडाैँ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ ।

मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।


मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए ।

आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।