धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी



धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।


उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै उपप्रमुखमा नेकपा (एमाले)का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम गए अबेर राति सम्पन्न भएको छ ।