दोलखामा एक हजार ४२३ जनाद्वारा मनोनयन दर्ता



चरिकाेट । आसन्न स्थानीय तह निर्वाचनका लागि दोलखामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी एक हजार ४२३ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्लास्थित नौवटा स्थानीय तहमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात पालिका र दुई नगरपालिकामा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी प्रमुख÷अध्यक्ष पदका लागि ७७ जना र उपप्रमुख÷उपाध्यक्षका लागि ४० जनाले मनोनयन दर्ता गराएका छन् ।


यसैगरी जिल्लाभर ७४ वडाध्यक्षका लागि ३७७ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि ४९०, महिला सदस्यमा २३० र दलित महिला सदस्यमा २०९ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी गौरीशङ्कर गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी भीमेश्वर नगरपालिकामा १७०, विगु गाउँपालिकामा १६७, मेलुङ गाउँपालिकामा १६५, तामाकोसी गाउँपालिकामा १४९, कालीञ्चोक गाउँपालिकामा १४८, जिरी नगरपालिकामा १४४ र बैतेश्वर गाउँपालिकामा १५० जनाले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैतेश्वर गाउँपालिकामा गठबन्धनको छुट्टाछुट्टै उम्मेदवार

बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलबीचको गठबन्धनमा सहमति हुन नसक्दा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेती तथा अध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मण खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीबाट कल्याण दाहालले मनोनयन दर्ता गराएका छन् ।