तीनवटा सवारी आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।


दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा मत्यु भएको हो ।

दुर्घटनामा तनहुँको दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका–३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, लगायतको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा पछि राजमार्ग एक घण्टा अवरुद्ध भएकोमा सवारीसाधन पाखा लगाएपछि पुनःसञ्चालन भएको हो । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।