झापामा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण



झापा । जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया भयरहित र शान्तिपूर्ण भएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ ।

मनोनयन प्रक्रियालाई दुई दिनको समय दिए पनि आइतबार अत्यन्तै न्यून दलहरुले अर्थात विभिन्न पदमा ७४४ जनाले मात्र मनोनयन दर्ता गराएका थिए । जसका कारण आज बिहानदेखि नै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने दलहरुको भीड लागेको थियो ।


मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले हालसम्म १५ पालिकामध्ये दुई पालिकाको मात्र तथ्याङ्क विवरण आइसकेको बताए । उनले जिल्लाको दमक र कनकाई नगरपालिकामा मात्र उम्मेदवारहरुले मनोनयन दर्ता गरिसकेको जानकारी दिए । दमक नगरपालिकामा १७ प्रमुख, १३ उपप्रमुख, वडाध्यक्ष ४८ र बाँकी सदस्यसहित २०५ जनाले उम्मेदवारी मनोनयन गर्दा गरेको उनको भनाइ छ ।

यसैगरी कनकाई नगरपालिकामा प्रमुखमा आठ, उपप्रमुखमा आठ, वडाध्यक्षमा ४३ र सदस्यहरु १४६ गरी जम्मा २१० जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएको बताए । बाँकी रहेका १३ पालिकाको भने दुई घण्टाभित्रमा मात्र सम्पूर्ण विवरण मुख्य निर्वाचत अधिकृतको कार्यालयमा आइसक्ने उनको भनाइ छ ।

जिल्लाका १५ पालिकामध्ये प्रदेश नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएर मेचीनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा आज उम्मेदवारी दर्ता गराएका छन् ।