‘कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्तावेज होइन, पागलहरूको प्रलाप हो त्यो’- केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रको आलोचना गरेका छन् । मंगलबार पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रलाई ‘गालीपुराण’को संज्ञा दिएका हुन् ।

उनले भने, ‘कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्तावेज होइन। त्यसलाई राजनीतिक दस्तावेजको दर्ता दिन सकिँदैन। पागलहरूको प्रलाप हो त्यो ।’ घोषणापत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणपत्रको कपी गरेको आरोप पनि लगाए । उनले भने,‘कसरी राजनीतिक दस्तावेज हुन्छ ? केही नै छैन। जम्माजम्मी धारेहात लगाएको छ। एमाले, एमाले, पाँच वर्ष खेर गयो आदि इत्यादि ।’ अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभएको भन्दै उसले घोषणापत्र प्रकाशन नगरेको बताए ।


ओलीले भने,‘माओवादी पार्टी होइन, केन्द्र हो त्यो । त्यस्ता सेन्टर त विभिन्न खुलेका छन् नि ! त्यसले चुनावी घोषणापत्र निकालेन । कांग्रेसले निकालेको छ भैगो नि !’ उनले आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाए । उनले भने, ‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’ उनले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण छोरीलाई मेयर बनाउनैपर्ने बाध्यता रहेको बताए । उनले भने, ’प्रचण्डको अस्थिरताका कारण छोरीलाई कसरी मेयर बनाउन सकिन्छ भन्ने हो। लक्ष्य केही छैन, गन्तव्य केही छैन। मेयरका लागि बार्गेनिङ गरेको छ।’