ओलीले मधेशी जनतालाई नागरिकताविहीन बनाउन चाहिरहेको प्रचण्डको आरोप



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली मधेश विरोधी रहेको र मधेशीलाई नागरिकता विहीन बनाउन चाहिरहेको आरोप लगाएका छन् ।

बिहीबार सिराहको मिर्चैया नगरपालिकामा रामप्रसाद साहको सम्मानमा निर्मित शहीद द्वार उद्घाटन र नगर अस्पताल शिलान्यास गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्। मधेशका लागि माओवादीले लडेको भन्दै उनले संविधान संशोधनको प्रस्ताव गरे पनि ओली र एमालेले रोकेको आरोप समेत लगाए ।


उनले भने,’संविधानमा मधेशीको अधिकार पूरा नभएको भन्दै दुई पटक संसद सचिवालयमा संशोधन दर्ता गराएको थिएँ। एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताकै कारणले नै मधेशी जनताको अधिकार संविधानमा राख्न नसकिएको हो ।’

मधेशी जनताको मुख्य माग नागरिकता सम्बन्धी विधेयक ल्याउन एमालेले अवरोध गरेको दाबी गरे। उनले अध्यादेशमार्फत् नागरिकता सम्बन्धी समस्याको समाधान गर्न अदालतले रोकेको भन्दै सदनबाट कानुन ल्याउन एमालेले रोकेको दाबी गरे।

ओली राजावादीहरुसँग साँठगाँठ गरेर संविधान उल्ट्याउने प्रयास गरिरहेको समेत प्रचण्डले आरोप लगाए। माओवादीले मधेशी जनताको मुक्तिका लागि पहिलो पटक मधेशी मुक्ति मोर्चा गठन गरेको स्मरण गर्दै मधेशलाई आफूले रोजेको दाबी गरे।