उदयपुर किशोरी हत्या प्रकरण : हत्याका आरोपी सार्वजनिक



उदयपुर, चैत २३ गते । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।


उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए । “अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ ।” एसपी बोहोराले भने “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” हत्याको मुख्य योजनाकार नाबालिक छिन् ।

एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ । मृतक कविता र हत्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् । साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।

सो योजनामा विनोदको मद्दत लिएर हत्या गरेको पाइएको एसपी बोहोराले बताए । सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरुले दिएका छन् । उनीहरुले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।

सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो । हत्यापछि घरै बसेका उनीहरुलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो ।

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुईजनालाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । उनीहरु उपर कर्तब्य ज्यान मुद्दा परेको छ । मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरुको नामसहित किटानी जाहेरी दिएका थिए।

इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडि बढाउने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ । दोषी नाबालिकलाई पाँच दिन र विनोदलाई सात दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।

मृतक किशोरीको शब पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारले किशोरीको शब जिम्मा लिन मानेको थिएन । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेको स्थानीयले छिटो हत्यारा पत्ता लगाई सार्बजनिक गर्न माग गर्दै आएको थियो ।

आन्दोलन भड्काव किसिमको हुने स्थिति भएपछि आजै सर्बपक्षीय छलफल भएको थियो । छलफलले पीडितलाई उचित न्याय र क्षतिपूर्ति दिलाउन सबै लागि पर्ने र अपराधी पत्ता लगाई कारवाही गर्न प्रहरीलाई सहयोग गर्ने सहमति बनेको थियो । यता सहमति संगै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।