आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : प्रचण्ड



काठमाडाैँ ।सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ ।

पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए ।


काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक÷एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिए । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ । कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।