२०७४ सालमा एमालेले जितेको ठाउँमा हाम्रो दाबी रहन्छः माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन् । उनले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँटको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे ।


पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगर्ने पनि बताए । तर एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनले दाबी गरे ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।

उनले भने, ‘एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ । किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन् । यो कुरालाई ख्याल गर्नुस् । ११ गते नोमिनेशन गर्नुपर्नेछ । त्यसअघि नै उम्मेदवारहरुको टुंगो लगाई सक्नुपर्दछ । अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्यो सँग हामी चुनाव जान सक्छौं । हामी एक्लै पनि जित्न सक्छौै भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्दछ ।’

अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरुको ध्यानाकर्षण गराए ।