हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी



काठमाडाैँ । सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गरेका हुन् । “हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन” अर्थमन्त्रीले भने ।


आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो । अर्थमन्त्री शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर, सञ्चार सचिव डा वैकुण्ठ अर्याल, बजेट लेखन समितिका सदस्यलगायतको छलफलमा सहभागिता थियो ।

बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुत गरेको थियो । सञ्चार सचिव डा अर्यालले गर्नुभएको प्रस्तुतिकरणमा हुलाक सेवा परम्परागत शैलीले चलेकाले सुधारको खाँचो रहेको बताए । अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिइ नयाँ जनशक्ति भर्ना गरेर भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चार मन्त्रालयले हुलाक कार्यालयलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ ।