हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा : पेट्रोलियम खपतमा मासिक ३५ प्रतिशतले कमी आउने



काठमाडौँ । पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउने र नेपाल आयल निगमले व्यहोरिरहेको घाटा पनि कम हुने विश्वास गरिएकाे छ । 


सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दुई दिन बिदा दिने विषयमा छलफल भइरहे पनि आधिकारिक निर्णय भने भइनसकेको छैन ।

हाल नेपालमा पेट्रोलको खपत दैनिक २२ सय किलोलिटर छ । डिजेलको दैनिक खपत पाँच हजार  किलोलिटर छ भने एलपी ग्याँसको खपत दैनिक १० हजार सिलिण्डर छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा दैनिक २३ रुपिँया जोगिन्छ भने डिजेलबापत दैनिक २८ रुपियाँ जोगिने नेपाल आयल निगमकाे भनाइ छ ।