वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस



काठमाडाैँ । निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वननिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको बताए ।

आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ देखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने हुन्छ । उक्त दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको उनले बताए ।


यसैगरी, निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर वैशाख २८ देखि ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला  तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।