काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आसन्न स्थानीय तहको निर्वाचनमा उच्च मनोबलका साथ होमिएको बताएका छन् । शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी उच्च मनोबलका साथ निर्वाचनको महाअभियानमा होमिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘हामीले किन हाम्रो पुरानो पार्टी एमालेबाट विद्रोह गर्नुपर्यो, विद्रोहको बाध्यता के आइलाग्यो, त्यसलाई प्रस्ट पार्नुस्, तथ्यहरू, प्रमाणहरू पकिस्नुस्। तथ्य र प्रमाण पस्किसकेपछि विपक्षीले केही बोल्न सक्ने छैन । तपाईंले एकएक घटनाबारे सम्झिनूस् नोट गर्नुस् र त्यो जनताको माझमा पुर्याउनुस्। विरोधीहरूले लगाउने झुठा आरोपहरूलाई चोटिलो जवाफ दिनूस्।’
उनले एमालेलाई लक्षित गर्दै त्यो कम्युनिष्ट पार्टीले बाटो बिराएको बताएका छन् । उनले भने, ‘उनीहरूले बाटो बिराएका छन्। दक्षिणपन्थी भासिएका छन्। उनीहरूमा व्यक्तिवाद छ। सत्तामा पुगेपछि त्यो अहंकार र दम्भमा परिणत भएको छ । उनीहरूले लोकतान्त्रिक मान्यता मान्दैनन्। कमिटी प्रणाली मान्दैनन्। व्यक्तिको जय र व्यक्ति पूजाको प्रवृत्ति ती पार्टीमा देखिन्छ।