माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनको सुनुवाइ ’हेर्न नमिल्नेमा’ राखिएको छ ।

मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो । तर न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइमा नबस्ने निर्णय गरेका छन् । यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै उनले त्यहीसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गरेका हुन् ।


सुवेदीले मुद्दा हेर्न नमिल्ने भएपछि तत्काललाई फैसला टरेको हो । यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आइतबारका लागि मिति तोकेका थिए ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए । निवेदक पक्षले आज सुनुवाइ नगर्ने हो भने अब कहिले गर्ने भन्ने आजै मिति तोक्नुपर्ने माग गरेका छन् ।