भूमिमन्त्री श्रेष्ठद्वारा मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा



मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गरेका छन् ।

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।


मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले भने, “ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ ।”

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताए । उनले निर्वाचन नजिकिँदै गर्दा भ्रम छर्ने काम भइरहेकाले मान्छे चिन्न जनतालाई आग्रह गरे ।

गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखे पनि सरकारीे अनुमति नपाउँदा वितरण गर्न असमर्थ हुँदै आएको थियो । उक्त गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छन् ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, जिल्ला अध्यक्ष विष्णु दाहाललगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।