भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव



जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् ।

जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन् । “पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ ।


यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्नुहुँदै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन् । “जयनगरबाट कुर्थासम्मको रेल सञ्चालन भइसकेको छ”, मन्त्री यादवले भनिन्, “रेल सञ्चालन भएपछि रेलको सुरक्षा र संरक्षण गर्ने हाम्रो धर्म हो, रेल चलाउने र संरक्षण गर्ने कार्यमा सबैले सहयोग गर्नुपर्छ”, उनले भनिन् ।

रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताइन् ।