बाँके । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भइरहेका छन् ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ८१ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर अब उम्मेदवार छनोट प्रक्रियामा लागेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनले जिल्ला पदाधिकारी बैठक बसेर वडास्तरमा एकै दिन सबै वडामा सर्वसम्मत उम्मेदवार छनोटका लागि आन्तरिक पार्टी निर्देशन जारी गरिएको बताए ।
नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पुर्याउने काम भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । उनका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।
माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पुर्याएको जिल्ला संयोजक डम्मर विकले जानकारी दिए ।
राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । एकदुई दिनमा उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिँदै राप्रपा महामन्त्री डा धवलशम्शेर राणाले निर्वाचन अभियानमा सिङ्गो पार्टी पङ्क्ति होमिएको उल्लेख गरे ।
जनता समाजवादी पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुङ्गो लगाएर प्रचारमा जुटिसकेको छ । नेपालञ्ज, डुडुवा, जानकी र नरैनापुरमा उम्मेदवार टुङ्गो लागिसकेको जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताए । उनले अन्य बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुङ्गो लगाउने जानकारी दिँदै जसपाले चारवटा पालिकामा आफ्नो नेतृत्व पाए मात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको उल्लेख गरे ।