पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादा कायम राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना



चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताएका छन् ।

नारायणी टुडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको बताए । उनले भने, “गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।” चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने विषयमा सबैले ख्याल राख्नुपर्ने उनले बताए । उनले भने, “कुनै समय लोकतन्त्रका लागि मिसन पत्रकारिता थियो, अहिले त्यसको गलत प्रयोग गरिन थालिएको छ ।”


अहिलेको समयमा पत्रकारिता क्षेत्रलाई प्रयोग गरी गलत कामको ढाकछोप र प्रचार प्रसार गर्ने प्रचलन बढेको भन्दै उनले इमान्दार पत्रकारलाई अझै जोखिम हुने गरेको बताए । उनले भने, “निर्धक्क भएर सूचना सम्प्रेषण गर्न अझै पनि कठिन छ ।” पत्रकारितालाई चौथो अङ्गका रूपमा स्थापित गराउने मान्यतालाई बदनाम गराउनेले पत्रकारको बदनाम गराएको उहाँको भनाइ थियो ।

पत्रकारिता सहज नभएको भन्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमा प्रेस स्वतन्त्र रहेको बताए । उनले भने, “राज्य, व्यक्ति र संस्थाका गलत क्रियाकलापलाई बाहिर ल्याउनु र जनतालाई सूचना दिनु पत्रकारको धर्म हो ।”

फरक प्रसङ्गमा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा काम गर्ने व्यक्तिलाई निर्वाचित गराउन अनुरोध गरे । उनले भने, “दुःख पाएकालाई सुख दिन प्रमुख, मन्त्री बनाउने होइन, काम गर्न जाने हो त्यहाँ त काम गर्ने व्यक्तिलाई टिकट दिनुर्छ र निर्वाचित गराउनुपर्छ ।”

निर्वाचनले जनप्रतिनिधिमात्रै फेर्ने नभई देशले काँचुली फेर्ने नेतृत्वलाई विजयी गराउन उनको सुझाव थियो । निर्वाचनमा क्षमतावान उम्मेदवार छान्नसमेत उहाँले आग्रह गरे ।