कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको आज मृत्यु भएको छ ।
विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन् ।
बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए । नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।