नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास



काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नववर्षको शुभकामना सन्देश जारी गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताएका छन् ।


विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षकारुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपील गरेका छन् ।

राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यस ध्यान केन्द्रित गर्न आग्रह गरे ।

उनले देशविदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरेका छन् ।