दक्षिण पाकिस्तानमा ७० भन्दा बढी घरमा आगलागी हुँदा ९ जनाको मृत्यु, सयौं घाइते



पाकिस्तानको दक्षिणी दादु जिल्लामा ७० भन्दा बढी घरमा आगलागी हुँदा बालबालिकासहित नौ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ । सो क्षेत्रमा सोमबार राति आएको हावाहुरीका कारण गाउँलेको चुलोबाट आगो फैलिएपछि जिल्लाका तीन गाउँमा आगलागी भएको जनाइएको छ ।

गाउँलेहरू दाउरा प्रयोग गरेर बाहिरी चुलोमा खाना पकाउँदै गर्दा तीन फरक ठाउँमा आगो फैलिदा छुट्टाछुट्टै ठाउँमा ७० भन्दा बढी घर ठूलो आगलागीमा परेको छ । आगलागी हुँदा घरमा सुतिरहेका कम्तीमा पाँच जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय स्वयंसेवकहरूले उद्धार कार्यमा सहभागी भई घाइतेहरूलाई नजिकैको अस्पतालमा सारेका थिए। घटनालगत्तै जिल्ला प्रशासन कार्यालयबाट खटिएको उद्धारकर्मी पनि घटनास्थलमा पुगेर शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिएका थिए ।