तनहुँमा गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल हुने



काठमाडौँ । गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ । शनिबार भएको छलफलमा जोशी समूहबाट चार र एमालेबाट चार जना रहने चुनावी परिचालन समिति गठन गर्ने निर्णय भएको छ ।

सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति एमालेसँग भएको गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले बताए । स्थानीय तह निर्वाचनमा जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जोशीलाई पार्टीले कारबाही गरेको थियो।


उनलाई ५ वर्षका लागि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो । ०७४ मा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशानसको कारबाही गरिएको थियो ।

उनीमाथि गरिएको अनुशासन कारबाही फिर्ता लिनेबारे कांग्रेसमा छलफल भइरहेको बेला जोशीले एमालेसँग चुनावी तालमेल गर्ने भएका छन् । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नुपर्ने भएको नेता जोशीले बताए