जसपा नेता यादवद्वारा पार्टी परित्याग



माेरङ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिए । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गरे । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिए ।


नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए ।