जनकपुरधाम : मेयरमा २१ र उपमेयरमा १० जनाकाे उम्मेदवारी



जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोस्रो दिन आज १९ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन् । आइतबार पहिलो दिन दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।


जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पार्टीले टिकट नदिँदा कांग्रेस, एमालेलगायत दलबाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र रुपमै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । एमालेका बयोवृद्ध नेता रामसेवक यादवले पनि स्वतन्त्ररुप मै उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका जनकपुरधाम नगरसमिति सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरीले स्वतन्त्ररुपमा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।