जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । तर उनले उम्मेदवारी फिर्ता लिएनन् । नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने पार्टी निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएका थिए ।


पाैडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकाेटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए । पाैडेल विसं. २०४९ सालकाे स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाकाे उपमेयरमा कांग्रेसबाट विजयी भएका थिए । उनी राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । ७१ वर्षीय पाैडेल वरिष्ठ अधिवक्ता पनि हुन् ।

कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् । कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।