चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण



काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पु¥याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताइन् । मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उनको भनाइ थियो ।


पार्टीका महानगर इञ्चार्ज एवं पूर्वराज्यमन्त्री दिलीप महर्जनले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएकाले जनपक्षीय नीति कार्यान्वयन गर्न अहिले माओवादी केन्द्रलाई जिताउन खाँचो रहेको बताए । उक्त वडाका प्रस्तावित वडाध्यक्ष रामशरण डङ्गोलले उक्त क्षेत्रमा अग्रगमनका पक्षमा जनता रहेकाले आफूले जित्नसक्ने विश्वास व्यक्त गरे ।