चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी



काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको हो ।

चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले नगर प्रमुख, उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको जानकारी दिइन् । उनका अनुसार वडाध्यक्षमा ९३ जनाको उम्मेदवारी परेको छ । यस्तै, वडा सदस्यमा १३७, महिला वडा सदस्यमा ६९ र दलित महिला सदस्यमा ५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताइन् ।


काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरि नगरपालिकामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा नेकपा (एमाले)बाट लिशा नकर्मी निर्वाचित भएका थिए । हाल नेपाली कांग्रेसबाट नगरप्रमुखमा गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठको उम्मेदवारी तथा नेकपा (एमाले)बाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठको उम्मेदवारी परेको छ ।

नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा दिलबहादुर श्रेष्ठ र उपप्रमुखमा रुपा महर्जन (श्रेष्ठ)को उम्मेदवारी परेको छ । यस्तै, सञ्चारकर्मी रोशन दानीले पनि राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

चन्द्रागिरि काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका साविक थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ मच्छेगाउँ गाउँ विकास समिति मिलेर बनेको काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।