गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता



काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । उनले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थी कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिए ।


पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियाली पर्यटक नेपाल आउने गरेका छन् । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियाली गाडी, मेसिन र मोबाइललगायतका कोरियाली प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए । उनले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजना निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको जानकारी गराए ।

भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको इपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए । त्यस्तै कोभिडकै कारण कोरियाली पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा पर्यटक आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताए । अब वर्षमा करिब ३० हजार कोरियाली पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उनको भनाइ थियो ।