गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाण



काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

आज साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मासँगको भेटपछि गृहमन्त्री खाणले आवधिक निर्वाचनमा सहभागी हुँदै आएका र हालसम्म निर्वाचनमा सहभागी नभएका सबै राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन आग्रह गरे ।


गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनले नेपाली जनताको शक्तिलाई सशक्तिकरण गर्ने उल्लेख गर्दै भने, “स्थानीय सरकार, पालिकाहरूसँग आमनागरिकलाई जोड्ने स्थानीय निर्वाचनले नै हो । नागरिकसँग जोडिन र स्थानीयस्तरको विकास निर्माणको हिस्सेदार हुन निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई भाग लिन नेपाल सरकार आह्वान गर्दछ ।’’

जनप्रतिनिधिले बनाएको संविधान आएपछि पहिलो निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले अब निर्धारित निर्वाचनबाट आउने जनप्रतिनिधिले विकास निर्माणमा अझ विस्तृत र व्यापक भूमिका निर्वाह गर्ने बताए ।

अहिलेसम्म सहभागी नभएका नेकपा र जनमत पार्टीलाई निर्वाचनमा सहभागी गराउन पटकपटक वार्ता भइरहेको उनले बताए । “दुवै राजनीतिक दल स्थानीय तह निर्वाचनमा सहभागी हुन सकारात्मक छन्”, उनले भने ।