खोटाङमा कृषि गणनालाई गणक र सुपरीवेक्षक परिचालन



खाेटाङ । कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरीवेक्षक परिचालन गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषिगणना कार्यक्रम सञ्चालन गर्दै आएको छ । विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरीवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत जीतबहादुर कोइरालाले जानकारी दिएका छन् ।


कृषि गणनामा खटिने कर्मचारीका लागि दिक्तेलमा गत चैत २५ गतेदेखि वैशाख २ गतेसम्म एकहप्ते तालिमको आयोजना गरिएको थियो । स्थलगतरूपमा हरेक कृषकको घरमा खटिएका कर्मचारीले जिल्लाका १० वटै स्थानीय तहमा वैशाख ६ देखि जेठ १९ गतेसम्म गणनाको काम गर्ने अधिकृत कोइरालाले जानकारी दिएका छन् ।

“पहिलो चरणमा सूचीकरण गरेर दोस्रो चरणमा मुख्य प्रश्नावली भरिन्छ”, उनले भने, “जिल्लाका १० वटै स्थानीय तहका ७९ वडामध्ये ७४ वडामा १८१ वटा क्षेत्र निर्धारण गरिएको छ । एउटा क्षेत्रबाट २० देखि ३० कृषकको विस्तृत विवरण सङ्कलन गर्ने योजना बनाइएको छ ।”

गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिञ्चित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, प्रमुख बालीको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोगलगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।

जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको पर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुने अधिकृत कोइरालाले जानकारी दिए ।

जिल्लामा कृषि गणनाका लागि दिक्तेलस्थित भवन गैरामा गत चैत १ गते कृषि गणना कार्यालय स्थापना गरिएको छ । दिक्तेलमा स्थापना गरिएको कृषि गणक कार्यालयको कार्यावधि २०७९ जेठ मसान्तसम्म रहने जनाइएको छ ।