कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम



नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ ।

वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याएका थिए । सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई निर्माणको काम अघि बढेको हो । उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिए । उनले कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थालेका छन् ।


वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले रु ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै छन् । सो बजेटबाट सात सडकमध्ये भगवती टोलमा दुई, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण अघि बढेको छ । उनले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिए ।

वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताए । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए ।

सडकमा पिसिसी र ग्राभलिङको काम भएको छ । वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले सङ्घीय सरकारको बजेटमा सडक पूर्वाधारको काम भइरहेको जानकारी दिए । उनले रु २३ देखि रु २५ लाखसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चैत मसान्तभित्र सबै कार्य सम्पन्न हुने बताए ।