एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली



काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन् ।

एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गरे । विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । उनले भने, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”


एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उनले बताए । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उनले बताए ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताए । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उनको दावी थियो । ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उनले उल्लेख गरे ।