आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौँ । वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

बैशाख १ देखि लागू हुनेगरी यसअघि नै श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशले भाडा बढाउने निर्णय गरेको थियो । साबिकको भाडामा १० प्रतिशत वृद्धि गरिएको हो ।


पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ ।