आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु



सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ ।

बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो ।


आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । आगलागीलाई एक घण्टाको प्रयासमा स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।