अमेरिकाबाट आएको रकम फुक्का गर्न राष्ट्र बैंकका अधिकारीले बार्गेनिङ गरेको सूचना छः अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा अर्थमन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन् ।


उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्यान्छ भन्दै प्रश्न गरे । उनले यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने बताए ।

मन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले यकिन रेकर्ड माग गरेका छन् । उनले भने, ‘ यहाँ बन्दमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरु हामीले सच्याउनु पर्छ । हामीले केही समय एलसी नखाल्ने भनेका छौं । म आग्रह गर्न चाहन्छु । १० देखि १५ दिन यता तिले एलसी खोले मलाई रेकर्ड चाहिन्छ । यो छलफल भएको १५ दिन भएको छ । एलसी कतिले खोले यो निजि क्षेत्रलाई पनि साथमा लिएर सरकारले गर्ने हो ।’

त्यस्तै अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए । उनले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए । अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धको कारण थप समस्या आएको स्वीकार गरे ।