अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध



अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।

तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् । यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे ।


तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन् । अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिवानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने बारे तालिवान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।