सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री



दमाैली । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवमा समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि भएको प्रष्ट पारे । गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”


गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।

उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, “उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौँ । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।”

गृहमन्त्री खाँणले तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पु¥याएको चर्चा गर्दै भने, “भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त गर्ने थिएन ।”