राति अबेरसम्म रेष्टुराँ नखोल्न र मदिरा नबेच्न आग्रह



बागलुङ । चुनावका बेला अवाञ्छित क्रियाकलाप नहोस् भनेर यहाँका राजनीतिक दलले राति अबेरसम्म रेष्टुराँ नखोल्न र मदिरा नबेच्न व्यवसायीसामु आग्रह गरेका छन् ।

गलकोट नगरपालिका–७ मल्मको वाम–लोकतान्त्रिक गठबन्धन दलको संयन्त्रले बैठकबाटै निर्णय गरी सार्वजनिक रुपमा सोको अपिल गरेको हो । “राति ९ बजेपछि वडाभित्र सञ्चालित रेष्टुराँको सेवा बन्द गर्न र मदिराजन्य वस्तु नबेच्न आग्रह गरेका छौँ”, संयन्त्रका सदस्य एवं नेकपा (माओवादी केन्द्र) वडा समितिका अध्यक्ष ललित मरासिनीले भने । मत प्रभावित पार्ने गरी गलत चलखेल हुन नदिन र घरगाउँमा शान्ति कायम राख्न राजनीतिक दलहरु आफैले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।


अध्यक्ष मरासिनीले आफ्नो पार्टीका चुनावलक्षित भेटघाट र घरदैलो अभियानलाई पनि बिहानदेखि साँझसम्म मात्र चलाउन जोड दिइएको बताए । राति ढिलोसम्म होटल, रेष्टुराँमा बसेर बैठक÷छलफल चलाउँदा खर्चिलो पनि हुने र अर्कातिर कसैले मदिरा सेवन गरिहालेमा अप्रिय घटना हुनसक्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनले उल्लेख गरे ।

मल्ममा तीन दलको वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धन दलको संयन्त्र गठन गरेर चुनाव परिचालनलाई गति दिइएको छ ।सम्बन्धित दल र उम्मेदवारहरुले मतदाता भेटघाट तथा घरदैलो अभियान थालेका छन् । संयन्त्रमा माओवादी केन्द्रबाट ललित मरासिनी, नेपाली कांग्रेसबाट बसन्त क्षत्री, प्रदीप केसी र राष्ट्रिय जनमोर्चाबाट दलबहादुर थापा र मीनबहादुर दर्जी रहेका छन् ।

संयन्त्रको बैठकले घोषणापत्र लेखन समिति, तीनै दलबाट चार÷चार जना रहने गरी १२ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति र स्यंवसेवक समिति पनि गठन गरेको छ ।गठबन्धनका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका राज थापा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । यस्तै वडा सदस्यमा (माओवादी) केन्द्रबाट छविलाल दर्जी, यानु विक, नेपाली कांग्रेसबाट ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशोदा थापा उम्मेदवार रहेका छन् ।

वडामा क्रियाशील अर्को दल नेकपा (एमाले)ले भने नेता होमबहादुर बस्नेतलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । विसं २०७४ को स्थानीय तह चुनावमा उक्त वडामा (माओवादी) केन्द्रले एक्लै जितेको थियो ।