मुस्ताङका छ वडामा एकल उम्मेदवारी



मुस्ताङ । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ ।

लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ । वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन् ।


वडा नंं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ । लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन् । चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन । घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ ।

घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ । घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो ।