भक्तपुरमा एक हजार एक जनाकाे उम्मेदवारी दर्ता



भक्तपुर । भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा परेको छ ।

चाँगुनारायण नगरपालिकाको प्रमुखमा २२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भीम विसीले जानकारी दिए । भक्तपुर नगरपालिका १४, मध्यपुरथिमि नगरपालिकामा १४ र सूर्यविनायक नगरपालिकामा १५ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेको उनले जानकारी दिए ।


जिल्लाका चार पालिकाको उपप्रमुखमा ३५ ले उम्मेदवारी दिएका छन् । जसमध्ये चाँगुनारायण नगरपालिकामा १०, भक्तपुर नगरमा नौ, मध्यपुरथिमिमा नौ र सूर्यविनायक नगरमा सात उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले भक्तपुरमा सबै पदमा गरी कूल एक हजार एकले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बिसीले जानकारी दिए ।