काठमाडाैँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् ।
नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगडी र सिरहाको मतगणना सम्पन्न भएको हो । सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेकाे समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिृकत पाठकले बुधबार बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिने तथा पूर्णरुपमा नजिता भने शुक्रबार मात्र आउने जानकारी दिए । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।