निलम्बित गभर्नर अधिकारीको रिटको मंगलबार सुनुवाइ हुने



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आइतबार अलि ढिला दर्ता भएको हो । सुनुवाइ मङ्गलबार हुनेछ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएर स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो ।


छानबिन समितिको उक्त निर्णय खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।