काठमाडौँ । वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।
यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात (क्यास मार्जिन) राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले गत फागुनमा आयात केही घटे पनि चैतमा पुन बढेको संकेत भन्सारका तथ्यांकले देखाएका छन् । यसकारण गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गाडी लगायत अनावश्यक वस्तु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।