त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ



काठमाडाैँ । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई आइतबार राति अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट  पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापानको नारिता जान लागेकी थिइन् ।


उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।