गृहमन्त्री खाणद्वारा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन



काठमाडाैँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल तरुण दलले आज यहाँ आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त गरे । राष्ट्रिय राजनीतिमा नै महत्वपूर्ण भूमिका रहने युवा तरुण कांग्रेसको मेरुदण्ड भएको बताउँदै मन्त्री खाणले पार्टीको उद्देश्य प्राप्तिका लागि पनि युवाको भूमिका र सङ्घर्ष अपरिहार्य हुने उल्लेख गरे ।


प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने तर्क गर्दै तरुण दलका पूर्वअध्यक्षसमेत रहनुभएका मन्त्री खाणले सो कार्यमा अहोरात्र खट्न तरुण दललाई निर्देशन दिए ।

कार्यक्रममा प्रथम महिला एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जनताका प्रत्यक्ष सरोकारका विषयसँग र प्रादेशिक तथा सङ्घीय निर्वाचनसँग समेत जोडिएकाले स्थानीय तहको निर्वाचन सक्रियताका साथै होमिन तरुण दललाई आग्रह गरिन् । उनले कांग्रेसलाई वडादेखि केन्द्रमा विजयी गराउन सकेमात्र कांग्रेसका विचार र उद्देश्य कार्यान्वयन गर्न सकिने धारणा व्यक्त गरिन् ।

केन्द्रीय सदस्य देउवाले आन्तरिक मनमुटाव बिर्सेर निर्वाचनमा पार्टीतर्फबाट टिकट पाएका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण युवालाई आग्रह गरिन् । साथै उनले गठबन्धनका उम्मेदवारलाई साझा मानेर आबद्ध सबै दलले मतदान गर्नुपर्नेमा धारणा व्यक्त गरिन् ।

काठमाडौँ महानगरपालिकामा कांग्रेसका तर्फबाट आधिकारिक उम्मेदवार एवं नेपाल महिला सङ्घका नेत्री सिर्जना सिंहले आफू युवा तरुणको भावनाअनुसार उम्मेदवार भएको बताउँदै युवा स्वरोजगार, युवालाई आर्थिकरूपमा आत्मनिर्भरता, महानगरको सरसफाइ, खानेपानी, नदी र सार्वजनिक जग्गा संरक्षण, संस्कृति संरक्षणलगायत आफ्ना योजनाका बारेमा बताइन्।

आफू विजयी भएपछि काठमाडौँलाई सभ्य, सुसंस्कृत, सुन्दर, सुरक्षित सहरका रूपमा विश्वमै परिचित हुने गरी काम गर्ने प्रतिबद्धताका साथ उनले कांग्रेसको विचार र पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनका लागि कांग्रेसलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताइन् ।

विद्वान् गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, पार्टीका केन्द्रीय सदस्य एवं तरुण दलका पूर्व अध्यक्षद्वय उदय शम्शेर राणा र जीतजङ्ग बस्नेतलगायत उपस्थित थिए ।