केशव स्थापितलाई कारबाही गर्न ४५ अधिकारवादी संस्थाको माग



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर पदका एमालेका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन् ।

एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।


विज्ञप्तिमा भनिएको छ,‘यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ ।’