उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको हत्या भएको छ । बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।
किशोरीको मंगलबार बिहान १० बजेतिर घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरेको अवस्थामा शव बरामद भएको थियो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका प्रहरी निरीक्षक तेजप्रसाद दाहालका अनुसार स्थानीयले घरबाट करिब २ किलोमिटर पर खोलामा छात्राको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
कोशी जनता उच्च माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मंगलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन् । घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए । किशोरीको टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।